के हो कञ्चन शर्मा प्रकरण ? किन मिडिया भए एकपक्षीय ? कतै कञ्चनका आशुँ र वास्तविकताबीच अर्कै कथा त छैन ?

6:36 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
कतै कसैले भनेको सुनेको थिए, मिडिया इज अ नेसेसरी इभिलू भनेर । वास्तवमै यो आवश्यक पनि छ र यो डरलाग्दो राक्षस पनि हो । मिडिया कहिलेकाँही आफूलाई ईश्वर नै ठान्छ । आफ्नो वचन सबै सत्य, आफूले भनेका सबै सत्य र अनुमान गरेर गरेका भविष्यवाणी पनि पुरा हुन्छन् भनेर सोच्छ । हामीले जे भनेका छौँ त्यो समाजले पत्याउँछ, त्यसैले समाजलाई दिशानिर्देश गर्ने ठूला शक्ति हामी नै हौँ भन्ने सोच्छ मिडिया । यसैबाट अभिभूत भएर मिडिया नराम्ररी खाडलमा जाकिन्छ पनि । भर्खरैको उदाहरणमा डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएर मिडियालाई लोप्पा ख्वाइ दिए । मुम्बइ ब्लास्टमा एक जना मुसलमान शङ्काको आधारमा पक्राउ पर्‍यो । सोधपुछ र कानुनी कारबाही बाँकी नै थियो तर मिडियाले उसको तस्बिर र ठूला अक्षर सहितको समाचार अग्रपृष्ठमा राख्यो, उसको घरपरिवार र व्यक्तिगत जीवनको बारेमा पनि निक्कै सोधखोज गरेर समाचार बनायो । पछि, अनुसन्धानपछि ऊ निर्दोष ठहरियो तर मिडियाको प्रचारवाजीले गर्दा उसको जागिर गयो, घरपरिवारका सदस्यले सहनुसम्म अपमान सहे, श्रीमती भएको एक बच्चा पनि छोडेर गइन र अदालतले निर्दोष भने पनि पछिसम्म शङ्काकै कारणले कतै जागिर पाएन र सडकमा माग्न बाध्य हुनु पर्‍यो । शंकित व्यक्ति दोषी नै हुन्छ भन्ने छैन, अपराधी नै हुन्छ भन्ने छैन र मिडिया अदालत पनि होइन जाँचबुझ नगरी एकै पटक फैसला सुनाउने र कार्यक्रम बिकाउन अनाहकमा कोही निर्दोषको जीवन वर्वाद हुने गरी एकपक्षिय धारणा समाजमा छर्ने काम गर्न मिडिया स्वतन्त्र छैन । तर मिडिया केवल आफूलाई अब्बल प्रमाणित गर्न र सनसनी फैलाएर पत्रिका बिकाउने ध्याउन्नमा मात्र रहन्छ भन्ने कुरा, विशेष नेपालमा, बेलाबेलामा प्रमाणित हुँदै आएको छ । नागरिक दैनिकले सेन्सेसनल बनाएर उठाएको दिलसोभा प्रकरण धेरै भएको छैन । यसै प्रकरणमा सम्पादकले राजीनामा समेत दिए । त्यति बेला दिलसोभालाई कस्तो आघात परेको थियो होला, कति मर्म भएको थियो होला, कति लांक्षना र अभद्र व्यवहार भोग्नु परेको थियो होला, उनको संवेदनामा कति खेलवाड भएको थियो त्यो सबैकुराको क्षतिपूर्ति न त नागरिकले दिन सक्थ्यो, न त दिलसोभा माथि लगाएको छाप नामेट गर्न सक्थ्यो । भ्रमित समाजका थुप्रैले आज पनि दिलसोभालाई उही नजरले हेर्छन् । याद राख्नु पर्ने कुरा के भने किल्ला ठोकेर पछि निकाले पनि डोब भने रही रहन्छ, दिलसोभाको हृदयमा लागेको त्यो डोब सायदै मेटिएला । कान्तिपुरले एक पटक फेरि दिलसोभा प्रकरणकै रूपमा कन्चनको आन्तरिक पीडाको व्यापार गर्दै नेपालीहरूको संवेदनासँग खेलवाड गर्‍यो, आफूलाई मसिहा ठान्यो । तर यहाँनिर कान्तिपुरले सत्यअसत्यको खोजबिन गरेन, न्यायअन्याय बुझेन, हकअधिकार दिलाउने कोशिश गरेन, खाली उनको संवेदनालाई बिक्री मात्र गर्‍यो । कञ्चन पीडित देखिन्छिन्, घरबाट त्यागिएकी देखिन्छिन्, सडकबाट दिक्षा चापागाइँले उनलाई उठाइन् र स्याहार सम्भार गरिन, दिक्षालाई मेरो हार्दिक नमन । कञ्चनको पीडासँग म पनि सहानुभूति राख्छु, उनले परिवारबाट पाएको अपहेलना र सडकमा आउनुमा मलाई पनि उत्तिकै दुःख लागेको छ । कञ्चनको अन्तरवार्तामा खाली उनलाई घोचियो, उनको उकुचलाई कोट्याइयो, द्रवीत पारियो र झरेका आँसुको व्यापार मात्र गर्‍यो । अन्तरवार्ता हेरेपछि मनमा धेरै प्रश्नहरू उब्जिए । पहिलो प्रश्न थियो, के यो अन्तरवार्ताले उनलाई न्याय दिलाउला ? यसपछि क्रमैसँग अरू प्रश्नहरू पनि मनमा आए, कन्यादान गरिदिएका दिदीभिनाजु यस्तो विपतमा किन अगाडि आएनन् ? दुई छोरा छन्, एउटा नआए पनि अर्को त आउनु पर्थ्यो, कमसेकम पढेलेखेको इन्जिनियर जस्तो छोरोले त आमाको वेदना बुझेर साथ दिनु पर्थ्यो, किन दिएन ? के कञ्चनका इष्टमित्र, छरछिमेकी, साथिभाइ, नातागोता, बन्धुवान्धव कोही छैनन् कञ्चनको लागि बोल्ने या उनको हकको लागि आवाज उठाउने ? कतै यो अन्तरवार्तापछि इज्जतको लडाइँ त हुने हैन, स्थिति झन् बिग्रने त हैन ? एकपक्षिय भएर भावनामा बग्दा कञ्चनका परिवारका व्यक्तिहरूको आधिकारिक धारण नबुझि लांक्षना लगाउँदा कतै सबै पक्षको अवस्था कञ्चनको जस्तै त हुने हैन ? कञ्चनलाई हकअधिकार दिलाउन कुनै व्यक्ति या संस्था पो लागिपरेको छ कि ? यी यावत प्रश्नहरुका उत्तर अझै नेपथ्यमा नै छन् जसलाई खोज्ने चेष्टा कान्तिपुरले गरेन । बरु लहैलहैमा लागेर सत्यतथ्य नबुझि अर्को मिडियाले परिवारका व्यक्तिहरूको मानमर्दन गर्दै फोटो सहित समाचार समेत छापेको देखियो । कञ्चन जस्ता पात्रहरु समाजमा धेरै छन्, ती सबैको उद्धार हुनु पर्दछ, उनीहरूले कानुनी रूपमा हकअधिकार पाउनु पर्दछ तर न्यायिक रूपमा मर्यादित तबरबाट । 



यो अन्तरवार्ताले गर्दा कञ्चनले सबैको सहानुभूति पाइन र अगाडि कानुनी रूपमा उनको हकअधिकारको लागि लडिदिने पनि कोही होलान्, उनले न्याय पनि पाउलिन् तर एकपक्षिय र एकोहोरो रूपमा सत्यतथ्यको जाँच नगरी परिवारका सदस्यहरूको आत्मसम्मानको समेत दोहोलो काढदै समाचार सम्प्रेषण गर्दा परिवारका सदस्य र उनी बीचको फाटो झन् बढने छ, घाउ झन् ठूलो हुनेछ, परिवारले हकअधिकार दिए पनि उनी त्यज्य हुने सम्भावना त्यतिकै प्रबल हुनेछ । सुख र खुसी दुई पृथक् कुराहरू हुन् । हकअधिकार या सम्पति सबै पाएपनि एक्लीनु परेपछि कञ्चनले के खुसी पाउलिन् र ? कञ्चनले पाएको दुःख, सास्ती, घृणा, अपहेलना र अन्यायको उचित कानुनी उपचार होस्, उनले न्याय पाउन, खुसी पाउन र अझ परिवारमा सम्मानित जीवनको सुख पाउन भन्ने भन्ने कुरा म चाहन्छु, हरेक नेपालीले पनि यही चाहेको छ । तर उनलाई हकअधिकार, न्याय र सम्मान दिने कार्यमा अरू कसैले अनाहकमा अन्याय सहन नपरोस्, सामाजिक अपहेलना भोग्न नपरोस्, विधि, कानुन र न्यायको अपहेलना पनि नहोस् भन्ने धारणा राख्दछु ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images