दाहाल भारतसंग लम्पसार पर्दा नेपालले अर्बौ डलरको चिनियाँ सहयोग गुमायो प्रचण्ड भारतसंग लम्पसार नपरेको भए अहिले विद्या र सीले रेलमार्ग शिलान्यास गर्थे

8:00 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण अनिश्चितताका विषयमा यतिबेला कुनै स्वतन्त्र ब्यक्तिले जिज्ञासा राख्यो भने पनि नेपाललाई भारतको निर्भरतामा कज्याइराख्ने परम्परागत बौद्धिकहरुले आरोप लगाइदिन्छन्– पक्कै पनि यो विचार बोक्ने मान्छे केपी ओलीको अनुयायी हो । तर, भारतको गोवामा हुन लागेको ‘ब्रिक्स’ सम्मेलनको पूर्वन्ध्यामा बंगलादेश पुगेका चिनियाँ राष्ट्रपति सीसँग बंगलादेशका रेल्वेका विभिन्न परियोजनामा २४ अर्व अमेरिकी डलर चिनियाँ सहयोगको सम्झौता भएको छ ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको खेलौना नबनेको भए यतिबेला चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपालको भ्रमणमा हुन्थे र रसुवागढीमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी संयुक्त रुपमा नेपाल चीन रेलमार्गको शिलान्यास गरिरहेका हुन्थे । तर, दाहाल भारतीय मिसनमा प्रयोग भएपछिको परिस्थितिले उनलाई भारतको गोवामा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउन अनुनय गर्ने पात्रका रुपमा उभ्याएको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपालसँग पनि दुई देशलाई रेल्वे सञ्जालले जोड्ने र नेपालमा इन्धन उत्खनन्का यस्तै सम्झौता हुने पूर्व तयारी यहाँ सरकार परिवर्तनसँगै तुषारापात हुन पुगेको छ । नेपालको अन्तरनिर्भर आर्थिक विकास र मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध चाहने हरेकलाई यसले ठेस लागे पनि पूर्ववर्ती ओली नेतृत्वको सरकार यसै उद्धेश्यका लागि ढालिएको थियो भन्ने पनि पुष्टि भएको छ ।

ओली नेतृत्वको सरकार रहेका बेला पारवहन र दुई देशीय रेल तथा सडक सञ्जालका महत्वपूर्ण र दूरगामी सम्झौता गरेका नेपाल र चीनले राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा ती सम्झौता कार्यान्वयनको ठोस थालनी हुने विश्वास गरिएको थियो । र त्यसैबेला ब्रिक्स सम्मेलनका क्रममा गोवा जानुअघि चिनियाँ राष्ट्रपति सी नेपाल भएर आउने र फर्कंदा बंगलादेश भएर फर्कने तालिका सार्वजनिक भएको थियो । तर, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण रोक्ने उद्धेशकै लागि तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्रलाई प्रयोग गरी ओली सरकार गिराइएको थियो र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइएको थियो । त्यसयता दाहाल सरकारका यावत क्रियाकलापले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भइसकेको छ भने गोवामै चिनियाँ राष्ट्रपतिलाई भेटेर नेपाल भ्रमणका लागि आग्रह गर्ने प्रयासमा प्रधानमन्त्री दाहाल रहेको खवरहरु आइरहेका छन् ।

पूर्वी एसियाली मुलुक क्याम्बोडियाको भ्रमणपछि राष्ट्रपति सी शुक्रवार ढाका पुगेका हुन् । सीको भ्रमणका बेला विभिन्न परियोजनामा चीनले लागानी गर्नका लागि २४ अर्व डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गर्ने अन्तराष्ट्रिय समाचार संस्था रोयटरले जनाएको छ ।

चीनले लागनी गर्ने गरी सम्झौता हुन लागेका ती परियोजनाहरुमा राजधानी ढाकालाई बंगलादेशका दक्षिण पश्चिमी शहरहरुसँग जोड्ने १७० किलोमिटर लामो रेलमार्ग पनि रहेको छ । चाइना रेल्वे ग्रुपले निर्माण गर्ने सो रेल्वेको लगानी ३.१ अर्व अमेरीकि डलर रहने रोयटर्सले जनाएको छ । त्यस्तै रोयटर्सका अनुसार ट्रान्समिसन लाइन निर्माणका लागि पनि अर्को १.१ अर्व डलरको सम्झौता हुँदैछ ।

यदि ओली सरकारको बहिर्गमनपछि पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई भारतीय रणनीतिक योजना मुताविक नचलेको भए र पूर्ववर्ती ओली सरकारको विदेश नीतिलाई निरन्तरता दिएको भए यतिबेला चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा रहेका हुने थिए र बंगलादेशलाई रेल्वे सेवा विस्तारका लागि गरेको २४ अर्व डलरको सम्झौता जस्तै नेपालसँग पनि सम्झौता हुने तरखर भइरहेको हुन्थ्यो । तर, भारतको स्वार्थपूर्तिका लागि नेपालको रेल्वे सम्झौताको यही कार्यसूची रोक्न प्रयोग भएका प्रधानमन्त्री पुष्पकमल दाहाल कमजोर हैसियतमा भारतीय भूमिमै चिनियाँ राष्ट्रपति सीसँग केही मिनेट भेट गर्ने तयारीमा छन् ।

अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उनले राष्ट्रपति बिद्या देवी भण्डारीको निम्ता राष्ट्रपति सीलाई हस्तान्तरण गरेका थिए । सीको नेपाल भ्रमणको पुरै टुंगो नभइसके पनि उनी नेपाल आउने तयारी प्रवल बनाइएको थियो । त्यसबेला नै चिनियाँ अधिकारीले राष्ट्रपति सीले ब्रिक्सको सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल र बंगलादेशको भ्रमण गर्ने सम्भावना रहेको वताएका थिए । तर, नेपाल बिरुद्ध भर्खरै नाकाबन्दी लगाएको भारतले चीन बिरुद्ध गरेको प्रयोगको टुल्सका रुपमा प्रधानमन्त्री दाहालले अनावश्यक रुपमा विशेषदूत कुटनीति र प्रधानमन्त्री बनेको एक महिनामै आफ्नो भारत भ्रमण गरी भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने तयारी गरेर चीनलाई बेवास्ता गरेका थिए ।

एमाले–माओवादी केन्द्र नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएर कांग्रेस–माओवादीकेन्द्रको सरकार बन्ने बित्तिकै सीको नेपाल भ्रमण अन्योलमा पर्न सक्ने आशंका त्यसबेलै व्यक्त गरिएको थियो । आम मानिसको त्यही आशंका मुताविक दाहाल नेतृत्वको सरकारले नेपालको आन्तरिक राजनीति र नेपालको कुटनीतिमा भारतीय चालबाजी र ‘मुभ’लाई समर्थन जनाउँदै लगेको छ ।

दाहालले उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई विशेष दूत बनाएर भारत पठाएपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ । देखावटी सन्तुलनका लागि दाहालले अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई पनि दाहालले चीनमा विशेष दूत बनाएर पठाएका थिए । देखावटी सन्तुलन निर्वाह गर्न विशेषदूत कुटनीति अपनाएको र भारतको योजना मुताविक चलेको आशंकापछि चीनले महरासँग राष्ट्रपति सीको नेपाल भ्रमणबारे स्पष्ट जवाफ पठाएको थिएन । तर, महराले चीनबाट फर्केकै दिन ‘चिनियाँ राष्ट्रपति’ नेपाल भ्रमण स्थगित नभएको झुठो दावी पेश गरेका थिए । यत्ति मात्र होइन माओवादी केन्द्र निकटका दैनिक पत्रिका र परराष्ट्र मन्त्रालयलाई प्रयोग गरी प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण स्थगित नभएको प्रचार गराएका थिए ।

भारतीय स्वार्थ अनुरुपको कुटनीतिमा प्रधानमन्त्री दाहाल उत्रेपछि चिनियाँ पक्षले ‘ब्रिक्सको सम्मेलन ताका राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई केहि बेर भेटे हुन्न ?’ भन्ने सुझावयुक्त प्रश्न गर्दै भ्रमण नहुने संकेत दिएको थियो । जुन कुरालाई सरकारले ढाँट्दै आएको थियो ।

राष्ट्रपति सी नेपाल आएनन् तर अर्को दक्षिण एसियाली मुलुक बंगलादेशको भने भ्रमण गरेका छन् र दुई देश बीच महत्वपूर्ण आर्थिक सम्झौताहरुमा हस्ताक्षर भएको छ । भोलि प्रधानमन्त्री दाहाल र राष्ट्रपति सी बीच ‘ब्रिक्स’ सम्मेलनका बेला समय निकालेर भेटबार्ता हुँदैछ । दुई नेताबीचको भेटवार्तापछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तय हुन्छ वा हुन्न प्रतिक्षाको विषय रहेको छ ।

नेपाल–तिब्बत रेल्वे लाइन, नेपाल–तिब्बत ट्रान्समिसन लाइन र किमाथांका–हिले दुई लेनको सडक, तथा ४०० मेगावाटको अरुण–किमाथांका जलबिद्युत आयोजना जस्ता मुख्य परियोजनामा प्रधानमन्त्री ओलीको भ्रमणको बेलामा प्रारम्भिक समझदारी भएका थिए । सो समझदारी पछि यी आयोजनाका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव पठाउने सहमति भएको थियो । तर, दाहाल नेतृत्वको सरकार आएपछि यी सबै कुरामा बेवास्ता गरी भारतलाई रिझाउने काममा मात्रै केन्द्रित भयो । अहिले सम्म माथि उल्लेखित कुनै पनि परियोजनाहरुको औपचारिक प्रस्ताव नेपालले पठाएको छैन । यी परियोजना अघि बढाउने बिषयमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति सी बीच भारतमा कुरा हुने सम्भावना छैन ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images