भाउजू, मन दह्रो पार्नुस्, दाजुको शव बुझेर आउँदै छु’......

7:19 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
दुई महिनाअघि साउदी अरबको अस्पतालको बेडबाट बलराम सुनुवारले मलेसियामा रहेका भाइ टीकारामलाई फोनमा भनेका थिए, ‘भाइ, अब तँसँग बोल्न पाउँदिनँ होला । बाँचे भने फर्केर आउनेछु । भाउजू र छोराछोरीको ख्याल गरेस् । जे भने पनि अब तँ नै होस् ।’


त्यसरी भाइलाई सम्झाएको दुई महिना पनि नपुग्दै बुधबार राति साउदी अरबको अल जिदानी अस्पतालमा ३१ वर्षीय बलरामको मृत्यु भयो । रोजगारीका लागि उनी १९ महिनाअघि साउदी अरब पुगेका थिए । उनका भाइ टीकाराम दुई वर्षअघि मलेसिया आएका थिए ।

दाजु अस्पतालमा पुगेपछि घर चलाउन गाह्रो भयो । घर सम्हाल्नको लागि भन्दै नेपाल फर्कने तयारी गर्दागर्दै दाजुको मृत्युको खबर टीकारामले क्वालालम्पुरमा सुने । त्यसयता उनी भावविह्वल भएर भौंतारिरहेका छन् ।

‘मेरो अभिभावक भनेको त्यही दाजु थियो, त्यो पनि बित्यो । आमालाई मैलै चिन्नै पाइनँ । बुबा पनि परार साल बित्नुभो । दाजुलाई पनि गुमाएँ । कति अभागी रै’छु म !,’ उनी आफ्नो भाग्यलाई धिक्कार्दै छन् यतिबेला ।

रामेछाप जिल्लाको नामडी गाविस वडा नम्बर ६ मुखिया टोल अहिले शोकमा डुबेको छ । साउदीमा बितेका बलरामकी श्रीमती अचेत अवस्थामा छिन् भने तीन वर्षको छोरा र एक वर्षीया छोरीलाई सम्हाल्ने समेत कोही छैन । भाइ टीकारामको श्रीमती पाँच वर्षे छोरा लिएर काठमाडौंमा डेरामा बस्दै आएकी छिन् । टीकारामले फोनबाट श्रीमतीलाई छिटो घर गएर भाउजूलाई सम्झाउन र छोराछोरीको ख्याल गर्न भनिरहेका छन् ।

राम्रो कमाइ भएका कारण बलराम दोस्रो पटक साउदी अरब पुगेका थिए । पछिल्लो कम्पनीमा जाँदा पनि राम्रो कमाइ थियो । तर, अचानक उनमा रोग देखा पर्‍यो । स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले अस्पतालमा भर्ना गरिदिए । उपचार पनि राम्रै गराए । उनलाई ब्रेन ट्युमर भएको रहेछ । पछिल्लो पटक आईसीयुमा राखेर उपचार गराउँदा-गराउँदै उनको मृत्यु भयो ।

यतिबेला दाजुको खोजीमा टीकाराम जुटिरहेका छन् । साउदी अरब र नेपालमा रहेका आफन्तहरुलाई उनी क्वालालम्पुरबाट बारम्बार सम्झाइरहेका छन्, ‘दाजुको शव बुझ्न म आउँछु, कसैले पनि चिन्ता नलिनू ।’

२७ वर्षीय टीकाराम आफूलाई निकै अभागी ठान्छन् । कमाएर केही गरौं भनेर परदेश पसेका उनी दाजुको शव काठमाडौंमा बुझेर रामेछाप जाँदै छन् ।
उनी प्रश्न गर्छन्, ‘गरिबलाई दशाले किन यति साह्रो पछ्याउँछ हँ ?’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images