११ फोटोमा हेर्नुहोस् – तरकारीवाली कुसुम
7:44 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
गत कात्तिक १२ गते काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर आफ्नो फेसबुकमा राखेका थिए । महर्जनले फेसबुकमा राखेको कुसुमको उक्त तस्बिर केही समयमा नै तरकारीवाली ह्यासट्याग राखेर फेसबुक र ट्विटरमा भाइरल बन्यो । त्यतिमात्रै होइन फोटो भाइरल बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले समाचार नै बनाए ।
कतिले त उनलाई पाकिस्तानको ‘चायावाला’ सँग दाज्दै समाचारका हेडलाइन् पनि बनाए ।
सुरुमा फोटो भाइरल बनेको कुरा उनलाई पत्तै थिएन । १५ गते गोरखा घ्याल्चोकमा पढ्दाकी साथी अन्जु रेग्मीले फोन गरेर उनको फोटो भाइरल भएको कुरा सुनाइन् । उनी भन्छिन्, ‘एकछिन म अचम्ममा परेँ । डर लाग्यो । अब के हुनेहो भन्ने चिन्ता लागिरह्यो ।’
कुरा सुनेको दिन उनलाई त्यति धेरै निन्द्रा परेन । घरी यता फर्किने उता फर्किने गर्दैमा रात कट्यो । बुबा आमाले पनि सुरुमा त किन फोटो दिएको भनेर पनि हकार्नु भयो । तर भोलिपल्ट फोटो खिच्ने उनै रुपचन्द्रले फोन गरेर फोटो भाइरल भएको र यसले नराम्रो भन्दा राम्रो काम गर्ने बताएपछि ढुक्क बनिन् ।
फोटो भाइरल बनेपछि उनलाई फोनको घण्टी बजेको बज्यै छ । शुक्रबार चितवनको फिस्लिङबाट गोरखा भुम्लिचोक जाँदै गर्दा उनले भनिन्, ‘अहिले सामान्य लाग्न थालेको छ । मानिसहरुले फोन गरेको गर्यै छन् । बधाइ दिएका छन् । पत्रकार पनि भेटुम भनिरहेका छन् ।’
हेल्लो तरकारीवाली बोल्या हो ?, बधाइ छ है, म पत्रकार कुराकानी गर्नुछ, फिल्म खेल्ने हो, मोडलिङमा रुची छ कि छैन? यस्ता अनेकन प्रश्न गर्दै फोन आउने उनले सुनाइन् । त्यति धेरै खुलेर नबोल्ने स्वभावकी उनी बोल्दा नर्भस जस्तै देखिन्थिन् ।
४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् उनी । सामान्य किसान परिवारकी उनी दसैंतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यहीबेला घरकी एक्ली सन्तान कुसुमले सदाका झैं बाबुआमालाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । उनी भन्छिन्, ‘फिस्लिङ पारीसम्म गाडीमा तरकारी ल्याएपछि फिस्लिङ पुर्याउन क्रेटमा बोकेको थिएँ । त्यो बेला फोटो खिचेको याद पनि थिएन । बेलाबेलामा यस्तो फोटो खिचिरहेका हुन्थे । यादै भएन । तर यो त भाइरल पो बनेछ ।’
उनले ज्ञानमार्ग उच्चमावि घ्याल्चोकबाट सि प्लस श्रेणीमा गत वर्ष एसएलसी पास गरेकी हुन् । एसएलसीपछि स्टाफ नर्स बन्ने रहर बोकेकी उनले पढाइ अलि कमजोर भएकोले त्यतातिर आँट नै गरिनन् । उनी भन्छिन्, ‘म त्यतिधेरै जान्ने विद्यार्थी होइन । त्यसैले नर्सतिर लागिनँ ।’ उनी अहिले चितवनको केष्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्दै छिन् ।
जिन्दगीमा यो बन्छु, उ बन्छु भनेर कमै उद्देश्य बोकेकी कुसुम एकाएक चर्चामा आएपछि भने मोडलिङतिर ध्यान जान थालेको बताउँछिन् । उनी भन्छिन्, ‘तीनदिनअघिसम्म पनि मोडल बन्छु भन्ने कल्पनै गरेको थिइनँ । तर अब अवसर पाएँ भने मोडलिङ गर्छु भन्ने लागेको छ।’
साथीभाइको बधाइ, पत्रकारसँगको भेटघाटले निकै थकित भएकी उनले अहिलेसम्म यति धेरै मानिसहरुसँग कुराकानी नगरेको बताउँछिन् । त्यसैलेपनि आफू अलि नर्भस बनेको उनको भनाइ छ । उनलाई सुरुमा त बोल्न पनि डर लागेको थियो । भन्छिन्, ‘बोल्दा पनि काँप्थेँ । अहिले अलि बानी परेको छ ।’
तरकारीवाली भनेर भन्दा कस्तो लाग्छ त? उनले मन्द मुस्कानमा भनिन्, ‘किसानकी छोरीलाई तरकारीवाली भन्दा के भो त ?’
सोसल मिडियामा उनको फोटोलाई लिएर राम्रोसँगै नराम्रो कमेन्ट पनि आउन थालेपछि भने मन दुखेको छ । उनले सोसल मिडिया प्रयोगकर्तालाई विशेष आग्रह गर्दै भनेकी छन्, ‘प्लिज नराम्रो कमेन्ट नगरिदिनुहोला ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments