दसैँमा घर फर्किन्छु भनेका श्रीमानको आउने आश त सकिएको छैन तर जिउँदो फर्किने आश सकियो,शव पर्खिनु परेको छ....

7:39 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
उदयपुर, २१ असोज । श्रीमानले गरेको फोनको अन्तिम कुराकानी जस्तै भएको भए सायद यतिबेला देवकी चौधरीको मुहारमा खुसी देखिने थियो । उनी पनि छिमेकीले जस्तै दसैँ मनाउने तयारीमा व्यस्त हुन्थिन् ।

घर रंङ्ग्याउने र लुगाफाटा, खाद्यन्न लगायतका सामान किन्ने चटारो हुन्थ्यो । दसैँ खर्च श्रीमानले विदेशबाट कमाएर ल्याएका हुन्थे । तर दसैँ मान्न फर्किन्छु भन्दै फोन गरेका उदयपुरको त्रियुगा नगरपालिका ७ मोतिगडाका ३४ वर्षे टेकराज चौधरी असोज ९ गते मलेसियामा मृत भेटिए । न टेकराजको दसैँमा आउने चाहाना पुरा भयो नत परिवारको खुसी नै टिक्यो ।

चार वर्षपछि भेट हुने चाहाना पनि अधुरै रह्यो । टेकराजसँगै परदेशिएका छिमेकी दसैँमा घर फर्किए । उनीहरुको परिवारमा दसैँको उत्सव छ । गाउँ भरका घर सिंगारिएको छ । टेकराजको घर अँधेरो छ । भित्ता कोतारिएका छन् ।

टेकराजका २ छोरी करीना र सलिना बुबा आउने खुसीले फुरुङ्ग थिए । तर आज टोलका रमाईलोमा रमाउन सकेका छैनन् । टेकराज दसैँ मान्न फर्किने कुराले घरै उज्यालो भएको थियो । ६० वर्षे आमा तेतरीवती, ७४ वर्षे बुवा रतिलाल र २ भाइ उनको प्रतिक्षामा थिए । दसैँ आउनै लाग्दा पनि उनको प्रतिक्षा त सकिएको छैन । तर जिउँदो फर्किने आश सकियो । शव पर्खिनु परेको छ ।

दसैँमा घर फर्किन्छु भनेका टेकराज भदौ अन्तिम सातादेखि बेखबर भए । परिवार खोजी सुरु गरे । परिवारले खोजीमा सहयोग गर्न जिल्ला विकास समितिले उदयपुरमा सञ्चालन गरेको सामिको सूचना केन्द्रमा निवेदन दिए । तर दश दिनपछि आफैंले फोन गरे । त्यस पछि देवकीसँग उनको राम्रै कुरा हुँदै थियो । असोज ९ गते पनि टेकराजले सधैं जस्तै फोन गरे ।

सधैं घर व्यवहारको कुरा गर्ने श्रीमानले त्यो दिन फरक कुरा गरे । ‘म भगवानको घरमा जाँदै छु, तिमी राम्रोसँग बस मेरो चिन्ता नलिनु ।’ त्यसपछि उनले फोन गरेनन् । टेकराजसँगै कार्यरत साथीले फोन गरे । खबर आयो ‘टेकराजले आत्माहत्या गरे ।’

केहि दिनपछि भेट हुने आश गरेका टेकराजको मृत्युको खबर परिवारलाई पत्याउनै गाह्रो भयो । फेरि स्वीकार्नुको विकल्प पनि थिएन । दुई वर्षका लागि श्रम स्वीकृति लिएका टेकराज ४ वर्ष बसि सकेका थिए । श्रम स्वीकृति सकिएपछि बसे अवैधानिक भइन्छ । टेकराज पनि त्यसपछि अवैधानिक भैसकेका थिए । उनलाई त्यहाँ बसेर काम गर्न समस्या थियो ।

अवैधानिक भएका कारण उनको शव नेपाल ल्याउन समस्या छ । मलेसियाको कानून अनुसार त्यहाँ रहेका अवैधानिक कामदारले जरिवाना तिर्नुपर्छ । टेकराजको शव नेपाल ल्याउन पनि १० हजार मलेसियन रिंगिट जरिवाना लाग्ने सँगै काम गर्ने साथीले परिवारलाई जानकारी दिएका छन् ।

उनै टेकराजको भरमा चलेको परिवारसँग त्यत्रो रकम जुटाउने अवस्था छैन । झुपडीले ओगटेको भन्दा फाल्टो जग्गा छैन । टेकराजकै कमाईले धानिएको थियो परिवार । तर अब २ लाख ६० हजारको बोझ आइलाग्यो जुटाउने बाटो छैन । नजिकैको निजी विद्यालयमा पढ्दै गरेका करिना र सलिना सरकारी विद्यालयमा सर्नु पर्ने बाध्यतामा पुगेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images